by

In:Chitwanix Blog

Comments Off on के तपाईले प्रयोग गर्ने सफ्टवेयर स्वतन्त्र छ ?

१. सफ्टवेयर स्वतन्त्रता- आजको आवश्यकता र महत्व 
विद्युतीय प्रविधि आजको युगमा हाम्रो जीवनको अभिन्न अंग भैसकेको छ । विकासका लागि सफ्टवेयर तथा अन्य यस्ता प्रविधि अत्यावश्यक बनिरहेको छ । तर विद्युतीय दुनीयाँमा हाम्रा अधिकारहरुमाथि नियमित आक्रमण भइरहेका छन् । हामी आफनो अधिकारहरुको रक्षा गर्न सक्षम हुनुपर्छ । सफ्टवेयर स्वतन्त्रता अर्थात् स्वतन्त्र तथा खुल्ला स्रोत सफ्टवेयर – फोस (Free and Open Source Software –FOSS) भनेको यस्तो सफ्टवेयर हो जसले आफ्नो प्रयोगकर्ताहरुको स्वतन्त्रतालाई पूर्ण सम्मान गर्छ र उनीहरुको अधिकारलाई सुनिश्चित गर्दछ ।

२. फोस के हो ? 
स्वतन्त्र तथा खुल्ला स्रोत सफ्टवेयर (फोस) लाई एक यस्तो सफ्टवेयरको रुपमा बुझ्न सकिन्छ जसले आफ्नो प्रयोगकर्तालाई उक्त सफ्टवेयर कुनै पनि प्रयोजनका लागि प्रयोग गर्ने, सफ्टवेयरको श्रोत अध्ययन गर्ने, आफ्नो कार्य र आवश्यकताअनुसार उक्त सफ्टवेयर वा सफ्टवेयरको स्रोतलाई परिवर्तन वा परिमार्जन गर्ने तथा उक्त सफ्टवेयरको परिवर्तित वा अपरिवर्तित रुपलाई आफ्नो आवश्यकताअनुसार वितरण गर्ने स्वतन्त्रता र अधिकार प्रदान गर्दछ । मुक्त सफ्टवेयर (unfettered software) भन्ने शब्दलाई ‘स्वतन्त्र सफ्टवेयर’को सट्टामा पनि प्रयोग गर्न सकिन्छ । यसप्रकारको सफ्टवयेरको निर्माण परम्परागत ‘एकल कम्पनी प्रणाली’ भन्दा फरक ‘वितरित सफ्टवेयर विकास प्रणाली’ बाट द्रुत गतिमा हुन्छ ।

३. फोस – के का लागि ?

  • बिनाअवरोध कुनै पनि कार्यमा सफ्टवेयरको प्रयोग गर्न ।
  • सफ्टवेयरको आन्तरिक कार्य विधिको अध्य्यन एवं परिमार्जन गर्न ।
  • सफ्टवेयर तथा ज्ञान आदान प्रदान गर्न ।
  • परिमार्जन गरेको कार्यलाई सार्वजनिक गर्न ।

४. फोसका  फाइदाहरु

  • न्यून वा कम खर्च र लागतमा फोस सफ्टवेयर उपल्बध हुने ।
  • उच्च कोटिको सुरक्षित, विश्वस्तरीय, विश्वसनिय तथा स्थिर सफ्टवेर उपलब्ध हुने ।
  • फोस सफ्टवेयरहरु खुल्ला मानकमा हुने भएकाले पूर्णरुपमा एकल बिक्रेतामा निर्भर हुनु नपर्ने ।
  • सफ्टवेरलाई स्थानीय श्रोत द्वारा स्थानीय मागअनुरुप स्थानीयकरण तथा विकास गर्न सकिने ।
  • स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयर प्रयोग गर्दा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रचलित प्रतिलिपि कानुनको सम्मान हुने र सफ्टवेयर पाइरेसी गर्न नपर्ने ।
  • अन्तर्राष्टियस्तरको स्थानीय मानवीय श्रोतको विकास हुने ।
  • राष्ट्रको आथिर्क स्रोत राष्ट्रबाहिर जानबाट रोकिने र राष्ट्रको विकासमा टेवा पुग्ने ।
    ज्ञान र संस्कृतिको विकास र प्रवद्र्धन सघाऊ पुग्ने ।
    प्रयोगकर्ताको स्वतन्त्रको सम्मान हुने ।

५.फोस – किन प्रयोग गर्ने ?

  • फोस सफ्टवेयरको प्रयोग गरी तपाई पनि न्यून वा कम लागतमा विश्वनीय, स्थिर तथा उच्चकोटीको सुरक्षित सफ्टवेरबाट लाभान्वित हुन सक्नुहुन्छ ।
  • विश्वव्यपी रुपमा ज्ञान, संस्कृति एवं सूचना र संचार प्रविधिको क्षेत्रमा स्वतन्त्रताको आन्दोलनमा सहभागी भई आफ्नो स्वतन्त्रताको रक्षा गर्न सक्नुहुन्छ ।
  • यी सफ्टवेयरको लाइसेन्सका लागि सामान्यतया: तपाईले कुनै पनि मूल्य तिर्नु पर्दैन र आफ्नो कार्यालय, घर वा अन्य स्थानमा नि:शुल्क जडान राख्न सक्नुहुन्छ ।
  • यदी तपाई आफ्नो कम्प्युटरमा भाइरसबाट थकित भईसक्नु भएको छ भने, फोस सफ्टवेयरमा प्रयोग गर्दा भाइरसले कुनै पनि असर पार्दैन, तसर्थ एन्टि–भाइरस (Antivirus) को पनि आवश्यकता पर्देन ।
  • सफ्टवेयर आयातमा निर्भरता (परनिर्भरता) कम हुने ।
  • सफ्टवेयर विकास, विस्तारमा सहयोग पुग्ने ।
  • प्रयोगकर्ताहरुले चाहेअनुरुप परिमार्जन गरी प्रयोग गर्न सकिने ।
  • स्वतन्त्रतापूर्वक सफ्टवेयर प्रयोग गर्न सकिने ।

६. नेपालमा फोसको विकास, प्रयोग र प्रवर्द्धन
सन् १९९० को प्रारम्भदेखि नै स्वतन्त्र सफ्टवेयर समुदायमा वादविवाद् भएदेखि, “स्वतन्त्र सफ्टवेयर“ (अङग्रेजीमा Free and Open Source Software र संक्षिप्तमा FOSS) को पर्यायवाची शब्दहरु प्रयोगमा आइसकेका थिए । “स्वतन्त्र सफ्टवेयर“ भन्ने शब्द रिचर्ड स्टलम्यानद्वारा १९८३ मा स्वतन्त्र सफ्टवेयर अभियान शुरु गर्दा परिभाषित गरिएको थियो । स्वतन्त्र सफ्टवेयरको परिभाषाको अभिलेख जनवरी १९८९ देखि पाउन सकिन्छ । नेपालका इन्टरनेट सेवा प्रदायक र अरु व्यवसायीहरु यस्ता प्रविधिको प्रयोग गरिरहेक थिए । सन् २००४ मा मदन पुरस्कार पुस्तकालय (मपुपु ) ले ‘नेपाललिनक्स’मा काम शुरु गरेको थियो, जसले पहिलो संस्करण २००५ मा सार्वजनिक गर्यो । सन् २००७, २००८ र २००९ को विश्व सफ्टवेयर स्वतन्त्रता दिवस कार्यक्रम प्रतियोगितामा फोस नेपाल १२० भन्दा बढी मुलकका ५०० भन्दा बढी समुहहरुमध्ये ‘फोस नेपाल‘ उत्कृष्ट ३ समूह मध्ये पर्न सफल भएको थियो । त्यसयता, फोस सफ्टवेयरलाई नेपाल सरकारले पनि आफ्नो सूचना प्रविधि नीति नियममा प्राथमिकतामा राखेको छ ।

७. फोस सम्बधि अधिक जानकारीको लागि :–

क. फोस नेपाल समुदाय :
फोस नेपाल समुदाय विभिन्न संस्था, कलेज र विश्व विद्यालयमा रहेको स्वयंसेवकहरुको ठूलो सञ्जाल हो । यो समुदायले स्वतन्त्र सफ्टवेयर, विद्युतीय दुनीयाँमा स्वतन्त्रता र अधिकारक बारेमा वकालत गर्दैछ । यो खुल्ला, स्वतन्त्र र पारदर्शी तरिका, साधन र प्रविधिहरुको प्रयोगमा विश्वास गर्ने मुद्दाहरुबारे नेपाली जनसमुदाय, सरकार, निजी क्षेत्र, नागरिक समाज, शैक्षिक संस्थाहरु र मिडियालाई सचेत गरउने कार्यमा लगिरहेको छ । फोस नेपालले विभिन्न सरोकारवालाहरुसँग सहकार्य गरेर विभिन्न कार्यक्रम र अभियानहरुको संचालन गरेको छ ।

ख. फोस अनुसन्धान तथा तालिम केन्द्र :
फोस अनुसन्धान तथा तालिम केन्द्र नेपालको पहिलो र दक्षिण एशियाको मुठीभर मात्र यस्ता केन्द्रमध्ये पर्दछ । ‘हेल्प नेपाल नेटवर्कको’ सहयोगमा र मदन पुरस्कार पुस्तकालय (मपुपु ) सँगको सहकार्यमा फोस नेपालले देशका विभिन्न स्थानका विद्यालयहरुमा ‘लिनक्स टमिर्नल सर्वर’ को प्रयोग गरी ई–लाइब्रेरीहरुको स्थापना गरेको छ ।

ग. फोस सहयोग तथा सेवा केन्द्र :
नेपालमा फोस सफ्टवेयरको महत्व र फाइदा बुझेर यसको व्यापक प्रयोगलाई प्रवद्धन गर्न यस केन्द्ररको स्थापना गरिएको हो । फोसको साझा अभियानमा सहभागी भएका धेरै स्वयंसेवक र प्राविधिकहरु संलग्न यस केन्द्रबाट विभिन्न फोस सफ्टवेयर, लिनक्स वितरण एवं सेवा, सहयोग र समाधान प्रदान गरिन्छ । यहाँ यो सेवा न्यूनतम मूल्यमा उपलब्ध गराइन्छ । यहाँ हरेक शुक्रबार लिनक्स आधारित नि :शुल्क प्रशिक्षण पनि प्रदान गरिन्छ । साथै हरेक शनिबार नेपाली विकिपीडिया सम्बन्धित विकि–स्कूल पनि संचालन गरिन्छ । यी वाहेक पनि विभिन्न कलेजहरुमा फोस नेपालको समुह सक्रिय रहेको छ । केहि समयअघि चितवनको एक समुहले चितवनिक्स (लिनक्समा आधारित अपरेटिङ सिस्टम) पनि निमार्ण गरिसकेको छ । सफ्टवेयर स्वतन्त्रता दिवस, डकुमेन्ट फ्रिडम डे लगायतका कार्यक्रमहरु नेपालमा पनि वर्षेनी आयोजना हुने गरेका छन ।

हेमपाल श्रेष्ठ
hempalshrestha@gmail.com